अनुसन्धानात्मक विशिष्टताका आधारमा नियुक्त प्राध्यापकहरुसँग अन्तरक्रिया
त्रिभुवन विश्वविद्यालय अन्तराष्ट्रिय सम्बन्ध केन्द्रले प्राज्ञिक विशिष्टताका आधारमा त्रिवि सेवा आयोग मार्फत विश्वविद्यालयमा सेवा प्रवेश गरेको प्राध्यापक एवम् सहप्राध्यापकहरुसँग त्रिविका पदाधिकारीहरु र उच्चपदस्थ अधिकारीहरुविच अन्र्तक्रिया सम्पन्न गरेको छ ।
त्रिभुवन स्मृति भवन कीर्तिपुरमा आयोजित अन्र्तक्रिया कार्यक्रममा त्रिविका उपकुलपति प्रा.डा धर्मकान्त बास्कोटाले प्राज्ञिक विशिष्टताका आधारमा विश्वविद्यालयमा प्रवेश गर्नुभएका प्राध्यापकहरुसँग संस्थाले अनुसन्धान,प्राज्ञिक उन्नयन र अन्तराष्ट्रिय सहयोग आदानप्रदानमा महत्वपूर्ण अपेक्षा राखेको धारणा व्यक्त गर्नुभयो । सिमित स्रोतसाधन,जिर्ण भौतिक अवस्थाका वावजुत विश्वविद्यालयलाई अनुसन्धानमा स्तरोन्नती गर्न योगदान गर्नसमेत आग्रह गर्नुभयो । विश्वविद्यालयले सरकारसँग मन्त्रालयहरुवाट हुने अनुसन्धानमा विश्विद्यालयका जनशक्तिलाई उपयोग गर्न आग्रह गरेको र “जी टु जी” मार्फत अनुसन्धान गराउने प्रक्रियाको थालनी हुने बताउनुभयो । उपकुलपति प्रा.डा बास्कोटाले अन्र्तक्रियामा सहभागी प्राज्ञिक विशिष्टताका आधारमा विश्वविद्यालय प्रवेश गर्ने १८ खादा ओढाई सम्मान समेत गर्नुभएको थियो ।
त्रिभुवन विश्वविद्याल सेवा आयोगका अध्यक्ष प्रा.डा. लालुप्रसाद पौडेलले त्रिभुवन विश्वविद्यालयको शैक्षिक गरिमा उकास्दै विश्वविद्यालयलाई प्रतिस्पर्धी बनाउन प्राज्ञिक विशिष्टताका आधारमा प्राध्यापकहरु चयन गर्ने व्यवस्था भएको बताउनुभएको थियो । विदेशका विभिन्न संस्थाहरुमा संलग्न व्यक्तित्वहरुलाई अनलाइनको माध्यामवाट फर्म भरी अनलाइनवाटै छनौट गरी विश्वविद्यालयले नयाँ अभ्यास गरेको बताउनुभयो । “तपाईहरुसँग विश्वविद्यालय धेरै अपेक्षा गरेको छ विश्वविद्यालयलाई कसरी योगदान दिन सक्छु भनेर लाग्नुहोस” भन्दै अध्यक्ष प्रा.डा पौडेलले विश्वविद्यालयमार्फत मुलुकमा बौद्धिक पलायन रोक्ने महत्वपूर्ण प्रयास भएकोे बताउनुभयो । त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा.शिवलाल भुषालले प्रतिष्ठित विश्वविद्यालय संगालेका प्राज्ञिक अनुभव र अनुसन्धानका विधिलाई हाम्रो अनुकुलतामा सफल प्रयोग गर्न आग्रह गर्नुभयो । त्रिभुुवन विश्वविद्यालयलाई अनुसन्धानात्मक विश्वविद्यालयको रुपमा रुपान्तरणगर्न सवैको योगदान आवश्यक रहेको भन्दै विश्वविद्यालयको नेतृत्वले आगामी दिनमा पूर्ण सहयोग उपलब्ध गराउने समेत बताउनुभयो ।